काठमाडौं । वरिष्ठ जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेतीले नेपाली समाजमा गरिबी कारण मात्रै मानसिक समस्या आउने गर्छ भन्ने भ्रम रहेको बताईन् ।
किशोरोवस्थाको मानसिक स्वास्थ्यका बिषयमा सञ्चारमाध्यमले महत्व दिनु पर्ने विज्ञहरुले सुझाव दिएका छन् । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) ले हेल्थकेयर पत्रकार समाजसँगको सहकार्यमा सोमबार राजधानीमा आयोजना गरेको ‘किशोरावस्थाको मानसिक स्वास्थ्यको मुद्दा र सञ्चारमाध्यमको भूमिका ’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.उप्रेतीले यस्तो बताएकी हुन् ।
उक्त कार्यक्रममा बोल्दै कान्ति बाल अस्पतालका वरिष्ठ मनोचिकित्सक डा.उत्कर्ष कार्कीले मानसिक स्वास्थ्यका विषय अझै पनि मिडियाले दमदार रुपमा नउठाएको बताएका छन् । उनले उपचार पश्चात् मानसिक रोग पूर्णरुपमा निको हुन्छ भन्ने विषयमा आमसञ्चारका माध्यमहरुले व्यापक रुपमा उठान गर्नुपर्नेमा जोड दिए ।
मानसिक स्वास्थ्यको विषयलाई जनचेतना अभियानकै रुपमा अगाडि बढाउनु पर्नेमा विज्ञहरुको जोड थियो। कार्यक्रममा किशोरावस्थाको मानसिक स्वास्थ्य र मिडियाको भूमिका बिषयक प्रस्तुतिकरण गर्दै दिदैं वरिष्ठ पत्रकार पदमराज जोशीले आमसञ्चारका माध्यमहरुले पछिल्लो समय मानसिक स्वास्थ्यका विषयहरुलाई महत्वका साथ प्रस्तुत गरेको बताए ।
उनले किशोरावस्थाको मानसिक स्वास्थ्यलाई अझै बढी प्राथमिकताका साथ मिडियाहरुले स्थान दिनुपर्ने बताए ।