काठमाडौं । हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी हुने महिलालाई १० हजार रुपैयाँ प्रोत्साहन रकम दिने भएको छ ।
स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति लिएको हो । 'स्वास्थ्य संस्थामा जाँच गराई शिशु जन्माउने सुत्केरीलाई १० हजार उपलब्ध गराइनेछ,' पालिका अध्यक्ष धनबहादुर गुरुङले भने ।
क्यान्सर, मिर्गौलामा समस्या र अन्य जटिल रोगको उपचार गरेर आराम गरिरहेका व्यक्तिलाई ३० हजार लिएर ‘स्वास्थ्य भेट’ कार्यक्रम सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । आगामी आर्थिक वर्षमा उत्पादन र विकास निर्माणका क्षेत्रमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने नीति पालिकाको छ ।
पूर्ण अपाङ्गता भएका र दलित घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । नासोले अहिले बढ्दै गइरहेको जलवायु परिवर्तनको असरमा पनि चासो देखाएको छ । 'जलवायु परिवर्तन न्यूनीकरणका लागि हिमचितुवा तथा सांस्कृतिक परम्परा संरक्षण, वृक्षरोपण र जनचेतनामूलक कार्यक्रम गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ ।
हिमाली जिल्लाका स्वास्थ्य संस्थामा अधिकांश औषधि पर्याप्त नहुने गुनासो बढिरहेकाले औषधि अभाव हुन नदिने नीति लिइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसबाहेक वर्षमा कम्तीमा एकपटक बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिने पनि बताइएको छ । ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण, पोषण कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम पालिकाले निर्धारण गरेको छ ।