काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका कमीकमजोरीलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मन्त्री बस्नेतले निजी क्षेत्रका कतिपय अस्पतालहरूले नवीकरण समेत नगरेका कारण ती अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको पनि स्पष्ट पारे । सोमबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो प्रष्टीकरण दिएका हुन् ।
मन्त्री बस्नेतले सो कार्यक्रममा देखिएका कमीकमजोरीहरूलाई हटाउने गरी कार्ययोजनाहरू बनाउने काम भइरहेको समेत बताए ।
मन्त्री बस्नेतले स्वास्थ्य उपचारमा गरिब जनताको पहुँच वृद्धिका लागि आफूले निःशुल्क बेडहरूको व्यवस्था मिलाउने कामलाई अघि बढाएको पनि पटकपटक दोहोर्याए ।