काठमाडौं । रुकुम पुर्व अस्पताल रुकुमकोटमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ की २६ वर्षिया ज्योती केसीको सोमबार दिउँसो सफल सल्यक्रिया गरिएको हो ।
दिउसो करिब दुई बजेतिर एपेन्डिसाइटिसको लक्ष्यण देखिएपछि ज्योतिका घरपरिवारले उनलाई रुकुमकोट अस्पताल पुर्याएका थिए । एपेन्डिसाइटिस भएर अस्पताल पुगेकी केसीको एमडिजिपी डाक्टर नारायण बराल नेतृत्वको टोलिले तत्काल आकस्मिक शल्यक्रिया थाल्यो ।
पहिलो पटक जिल्लामा एपेन्डिसाइटिसको सफलतापूर्वक इमरजेन्सी शल्यक्रिया गरी सफल उपचार गरिएको डाक्टर बरालले जानकारी दिए । डाक्टर बराल सहित डाक्टर रोहित शर्मा, नर्स रोशनी डागी, नर्स सोनु केसी, एनेस्थेसिया सहायक देउमा घर्ती र सहयोगी सुष्मा हमालको टोलिले केसीको सफल सल्यक्रिया गरेको हो ।एपेन्डिसाइटिस आकस्मिक रूपमा देखा पर्ने गम्भीर रोग हो । समयमै उपचार नपाए एपेन्डिसाइटिसले मानिसको ज्यान पनि लिन सक्छ । डाक्टर बरालले भने, ‘यो रोगको लक्षण देखिने वित्तिकै जटिलता हेरेर शल्यक्रिया गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार एपेन्डिसाइटिस हुँदा बिरामीको पेट पटक–पटक दुख्ने, भोक कम लाग्ने, वाकवाकी लाग्ने, पेट दुखिरहने र ज्वरो देखिने समस्या आउँछ । पेटको दुखाई सहनै नसक्ने गरि लामो समयसम्म दुखिरहेमा एपेन्डिक्स फुट्ने संभावना हुने डाक्टर बरालले बताए । उनले भने, ‘ज्योतीको पनि एपेन्डिक्स फुट्ने संभावना अधिक थियो ।’ सिमित श्रोत साधनबाट केसीको सफल सल्यक्रिया गरिएकोमा उनले खुसी ब्यक्त गरे । उनकाअनुसार अहिले केसीको स्वास्थ्य अवस्था सामान्य छ ।