सिन्धुली । उमेर ढल्कियो । तन्नेरी रसरङ सकियो । श्रीमान् १० वर्ष पहिल्यै बित्नुभयो । सन्तान र आफन्तको साथ भएन । बुढ्यौलीले गलेको शरीर अनेक रोगले थलियो । यो वास्तविक भोगाइ सिन्धुलीको सुनकोसी गाउँपालिका–१ की ९६ वर्षीया ठूलीमाया घिसिङको हो ।
घ्याम्पाटार सामुदायिक स्वास्थ्य एकाइ प्रमुख तथा अहेब बिनाकुमारी यादव उनको घरमा पुग्दा पेटीमा गुन्द्री ओछ्याएर सुतिरहेकी थिइन् । मयलले कट्कटिएको वस्त्र र शरीरबाट दुुर्गन्ध आइरहेको थियो । रोगले शिथिल भएको शरीर वरिपरि झिँगा भन्किरहेका थिए ।
स्वास्थ्यकर्मी यादवले बिरामी ठूलीमायाको स्वास्थ्य जाँच गरिन् । उनलाई रोगले मात्रै होइन, भोकले पनि कमजोर बनाएको रहेको छ । सामान्य बिरामी र दीर्घरोगीहरूलाई खुवाउने औषधि तथा स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने आधारभूत स्वास्थ्य सामग्री बोकेको झोलामा भोक मेटाउने औषधि थिएन । न त थियो, फेराइदिने सुकिलो लुगा । काइँयो खोजेर कपाल भने कोरिदिइन् । सफा भएर बस्न सुझाइन् । ज्वरो र पखालाले सिकिस्त भएकी ठूलीमायालाई औषधि दिएर उनी अरू घरका बिरामीको स्वास्थ्य जाँच तथा उपचारमा लागिन् ।
घिसिङ टोलकै असलीमाया मोक्तानको सासूआमा ६८ वर्षीया माया मोक्तानलाई बाहिर–भित्र गर्नसमेत समस्या छ । बिरामी परिरहने उनलाई उपचारका लागि कुशेश्वर दुम्जा स्वास्थ्य चौकी प्रमुख तथा सिनियर अहेब पियारी मोक्तान आँउछिन् । बेलाबेलामा फोन गरेर पनि उनको स्वास्थ्य अवस्था बुझ्ने गरेकी असलीमायाले सुनाइन् । उनले भनिन्, ‘सासूआमा हिँडडुल गर्न सक्नुहुन्न । बिरामी परिरहनु हुन्छ । नजिकै भनेको स्वास्थ्य एकाइ पुग्न पनि दुई घण्टा लाग्छ । सवारी साधनको सहज सुविधा नहुँदा डोकोमा बोकेर लैजाने गरेको थियौँ, अहिले त वडाले बेलाबेलामा स्वास्थकर्मी घरघरमै पठाउने वा फोन गरेर बिरामीको स्वास्थ्य अवस्था बुझ्न लगाउने गरेकाले सजिलो भएको छ ।’
घरभित्र–बाहिर गर्ने क्रममा लडेर ९२ वर्षीय बुद्धिमान मोक्तानको दाहिने आँखामा गहिरो चोट लाग्यो । त्यो बेला उनको सन्तान साथमा कोही थिएनन् । स्वास्थ्यकर्मी पियारी नै उनको सन्तान बनेर पुगिन् । घाउमा टाँका लगाइदिइन् । घाउ निको बनाउन मल्हम दिइन् । सरसफाइ राख्न र कुनै समस्या आए सम्पर्क गर्न भनेर उनी अरू बिरामीको सेवामा खटिइन् ।