काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि २ हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।
बिहीबारदेखि उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।
‘कान्तिबाल अस्पतालले ६० बेड परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४ सय ५०, ट्रमा सेन्टरले १ सय ५० र सहिद गंगालाल हृदयरोग केन्द्रले ९० बेड निःशुल्क गर्ने निर्णय गरेका छन् मन्त्री बस्नेतले भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका बेडको संख्या २ हजार २८ पुगेको छ ।
‘वीर अस्पतालले सात सय र कोसी अस्पतालले ३ सय ३० बेड निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्’, मन्त्री बस्नेतले भने । उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क बेड थप्दै जाने र तीनमा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।