काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ । आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिव २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधासम्पन्न भवन निर्माण कार्य अन्तिम चरण पुर्याएको छ ।
आयोजनाले सो भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको जनाइएको छ । यसै आर्थिक वर्षभित्र आयोजनाले तीन वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ । केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको आयोजनाका खोटाङका साइट इन्जिनियर शुसिलकुमार चौधरीले जानकारी दिए ।
ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको चौधरीको भनाइ छ। जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।