काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
बच्चामा जन्मजात देखिएको जटिल एवं दुर्लभ मानिने कनजेनिटल डायफ्रामाटिक हर्नियाको सफलतापूर्वक शल्यक्रिया गरिएको नोबेल अस्पतालका बाल तथा नवजात शिशु सर्जन डा.संजयकुमार शाहले जानकारी दिए ।
डा.शाहका अनुसार पेट र छातीलाई छुट्याउने पत्र (डायफ्राम) मा प्वाल परेका कारण बच्चाको पेट भित्र हुनुपर्ने कलेजो, आन्द्रा, आमाशय र फियो छातीमा पुगेको थियो । जसका कारण फोक्सो थिचिएर बच्चालाई श्वास फेर्न गाह्रो हुने, शरीरमा अक्सिजनको मात्रा कमी हुने र शरीर निलो हुने समस्या देखिएको थियो ।
कोशी अस्पतालमा जन्मिएको बच्चालाई श्वास फेर्न गाह्रो भएपछि नोबेल ल्याइएको हो । नोबेलमा एक्सरे गरेर हेर्दा पेटभित्र हुने अंगहरू छातिमा पुगेको देखिएपछि बाल तथा नवजात शिशु सर्जन डा.शाह नेतृत्वको चिकित्सकहरूको टोलीले बच्चाको पेट चिरेर शल्यक्रिया गरेको हो ।