काठमाडौं । सरकारले बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्स पठाउने तयारी थालेको छ ।
नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना पारित भएसँगै सरकारले बेलायतमा शून्य लागतमा नेपाली नर्स पठाउने तयारी थालेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई देशबिच भएको सम्झौता अनुसार नेपाली नर्सलाई बेलायतमा रोजगारीको अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जनाएको छ ।
श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दुई देशबिच यसअघि भएको सम्झौता अनुसार नेपाली नर्स बेलायतमा पठाउने इम्प्लिमेन्टेसन प्रोटोकल पारित भएसँगै बेलायत पठाउने गृहकार्य थालिएको जानकारी दिए।
मन्त्रालयले प्रोटोकल अनुसार साउनको १० गतेभित्र बेलायतमा एक सय जना नर्स पठाउने गरी अनलाइनमार्फत आवेदन माग गर्ने तयारी गरेको छ।
आकर्षक तलब र सुविधा रहेको प्रोटोकलमा बेलायत जान चाहनेले कम्तीमा तीन वर्षको नर्सिङ कोर्स पिसिएल नर्सिङ वा बिएनसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने छ भने आइइएलटिएसमा न्यूनतम सात अङ्क अनिवार्य रूपमा ल्याउनुपर्ने सर्त तोकिएको छ । त्यसै गरी दुई वर्षको कार्य अनुभव पनि प्रोटोकलमा अनिवार्य गरिएको छ।