काठमाडौं । काठमाडौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालले जी ई कम्पनीको १. ५ टेस्ला एम आर आई मेसिन भित्र्याएको छ । अस्पतालले आज भब्य समारोहकाबीच उक्त मेसिनको उद्घाटन कार्यक्रम समेत सम्पन्न गरेको छ । उक्त उद्घाटन कार्यक्रममा डा चक्रराज पाण्डे र अध्यक्ष नवराज पाण्डेले रिबन कटिङ गरेका थिए ।

अस्पतालले ल्याएको उक्त मेसिन जीई कम्पनीको एकदमै अत्याधुनिक प्रविधि एमआरआई मेसिन हो । उक्त मेसिन उद्घाटन कार्यक्रममा सहभागी भएर काठमाडौं महानगर वडा ९, १०, ११, ३१, तथा ३५ का जनप्रतिनिधीहरुले साथ तथा सहयोग गर्ने वचन दिएका छन् ।

फ्रन्टलाइन अस्पतालका सिइओ सुरेश कुमार मनोहरका अनुसार उक्त अस्पताल २०० बेडमा सञ्चालित छ । भौतिक संरचना यूरोपियन मोडलमा अस्पताल बनेको छ । शुल्क भने सिभिल अस्पतालको बराबरमा छ । अत्याधुनिक भवन भएकोले अस्पतालको सेवा शुल्क एकदमै महँगो छ भन्ने भ्रम जनमानसमा छ तर निजि अस्पताल भए पनि अन्य भन्दा सस्तो रहेको उनी बताउँछन् । वरिष्ठ अर्थाेपेडिक सर्जन डा चक्रराज पाण्डे अस्पतालमा कार्यरत्त छन् । वरिष्ठ रेडियोलोजिष्ट डा निर्मल न्यौपानेको सल्लाहमा उक्त मेसिन भित्र्याएको हो ।

अस्पतालका बजार व्यवस्थापक महेश न्यौपानेका अनुसार सबै प्रकारको सेवा स्ुविधा प्रदान गर्ने लक्ष्यका साथ अस्पतालले उक्त एमआरआई मेसिन भित्र्याएको हो । उनी भन्छन् रेडियोलोजी, ल्याब , शल्यक्रिया लगायत सम्पूर्ण सेवा प्रदान गर्नका लागि उक्त मेसिन ल्याइएको हो । नेपालमा अत्याधुनिक प्रविधिबाट सर्वसुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ अस्पतालले काम गरिरहेको उनको दाबी छ ।

