काठमाडौं । सरकारले महामारीको रूपमा पशु चौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ।
रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आवश्यक चासो लिएका छन् । उनले कृषि तथा पशुपन्छीमन्त्री डा। बेदुराम भुसाल र मन्त्रालयका उच्च अधिकारीलाई आवश्यक निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीले प्रभावकारीरूपमा पशु स्वास्थ्यकर्मी परिचालन गर्न, खोप आपूर्ति बढाउन तथा तत्काल खोप लगाउनका लागि जनशक्तिको आवश्यक प्रबन्ध गर्नसमेत सम्बद्ध अधिकारीलाई स्पष्ट निर्देशन दिएका छन्।
सरकारले हालसम्म सात लाख ३७ हजार डोज खोप आयात गरी सातै प्रदेशमा उपलब्ध गराएको छ । पशु सेवा विभागका अनुसार एक लाख ७२ हजार एक सय २८ पशु चौपायामा खोप लगाइसकिएको छ।
महामारी नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा स्थानीय तहमा संघीय सरकारले सःशर्त अनुदानअन्तर्गत रु एक लाखका दरले बजेट उपलब्ध गराइएको छ।
विभागका महानिर्देशक डा .सम्झनाकुमारी काफ्लेका अनुसार संघीय सरकारले एक सय ६१ स्थानीय तहमा भेटेरिनरी डाक्टर र सबै स्थानीय तहमा प्राविधिकको व्यवस्थापनका लागि बजेट उपलब्ध गराएको छ।
प्रदेश र स्थानीय तहसँग समन्वयका लागि सम्पर्क व्यक्ति तोकिएको छ । रोग रोकथाम तथा उपचारमा खटिने प्राविधिकका लागि प्राथमिक उपचारको जानकारीसहित सूचनामूलक सामग्री प्रकाशित र प्रसारित गरिएको छ ।