व्यास –५ रानीटारीकी ३० वर्षीया चिजा विकले भत्ता पाएकामा खुशी व्यक्त गरे । “गर्भवतीलाई भत्ता दिने गरिएको कुरा पत्याएर लागेको थिएन”,उनले भने, “हातमा नगदै परेपछि चाहिँ निकै अचम्ममा परेको छु । यो रकम फलफूल र पौष्टिक आहारमै खर्च गर्नेछु ।”
“खोप र नियमित परीक्षण मात्रा पूरा गरेपछि भत्ता पाइने रहेछ”, व्यास–५ की २३ वर्षीया सपना भुजेलले भने, “यस्तो कार्यक्रमले आत्मसम्मानसमेत मिलेको महसुस हुँदो रहेछ ।”
मातृ मृत्युदर घटाएर गर्भवतीलाई नियमित परीक्षण गर्ने बानीको विकास गर्न पोषण भत्ताको कार्यक्रम लागू गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए । यस कार्यक्रमले सकारात्मक चर्चा पाएकोसमेत उनले जानकारी दिए ।
“यो कार्यक्रमको सकारात्मक चर्चाले हामीलाई हौसला मिलेको छ”, उनले भने, “नगरवासीलाई कसरी प्रत्यक्ष प्रभावकारी कार्यक्रम लागू गर्न सकिन्छ भन्नेमा नै हामी जहिल्यै केन्द्रित छौँ ।” रासस