काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बनाउन नेपाल सरकार र गणतन्त्र कोरियाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
संझौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख (एक अर्ब २५ करोड ४० लाख) लगानी गरिने भएको छ । आगामी पाँच वर्ष (सन् २०२७) सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको सो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग –कोइका), मध्यपुर थिमि नगपालिका र अस्पतालले संयुक्त रहने भएको छ।
संझौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ।
हस्ताक्षर कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेलले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अभिवृद्धि गर्ने यस साझेदारीका लागि कोरिया सरकारप्रति कृतज्ञता व्यक्त गरे । यो परियोजनालाई सफलरूपमा कार्यान्वयनमा ल्याउन सरकारले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता पनि उनले बताए।
नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने भन्दै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताए । द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उनको भनाई थियो।