काठमाडौं । दैलेख जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । सोमबार जिल्लामा एक कार्यक्रमका बीच पूर्णखोप जिल्ला घोषणा गरिएको हो। कर्णाली प्रदेशलाई आगामी भदौमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गर्ने कार्यक्रमअनुसार दैलेखलाई असारमै पूर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखले जानकारी दिएको छ।
प्रतिनिधिसभाका पूर्वसांसद रद्रिन्द्रराज शर्माले औषधिमा विश्वास नगर्ने राउटे समुदायका बालबालिकालाई पनि खोपमा समेट्नुपर्ने बताएका छन्। जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले पूर्णखोप कार्यक्रमलाई प्रभावकारी बनाउन ग्रामीण खोप कार्यकर्ताहरूमा महिलाहरू परिचालन गर्नसके उपयुक्त हुन् सुझाव दिए। खोपबाट कोही बालबालिका नछुट्ने गरी अनुगमन पद्धतिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।
स्वास्थ्य सेवा कार्यालयका खोप अधिकृत थीरप्रसाद रेग्मीले दैलेखका ११ पालिकाका ९० वडाका ५६ स्वास्थ्य चौकी र २९ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र २ सय ६३ खोप केन्द्रबाट गएको जेठसम्म ३६ हजार ५ सय ९१ जना बालबालिकालाई खोप दिइएको जानकारी दिए।
रेग्मीले जन्मेदेखि १५ वर्ष उमेर समूहका खोप लगाउनुपर्ने उमूर समूहका पूर्णखोपमा २१ जना र आंशिकतर्फ ३ सय ७७ नना बालबालिका छुटेकामा खोजपड्तालबाट पत्ता लगाई खोप दिइएको बताएका हुन् । जेठ महिनाको दोश्रो सातादेखि असार पहिलो साता अवधिमा दैलेखका सबै पालिकामा पूर्णखोप निश्चितता घोाषणा गरिएको समेत उनले जानकारी दिए।