काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दुर्गम क्षेत्रका गर्भवती र सुत्केरी महिलाको हवाई उद्दारमा बजेट अभाव नभएको बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री आचार्यले दुर्गम क्षेत्रमा गर्भवती र सुत्केरी महिलाको हवाई उद्धार गर्नका लागि बजेटको कमी नरहेको बताएका हुन्। आगामी आर्थिक वर्षमा सो कार्यक्रमको प्रभावकारिता हेरेर थप परिमार्जन गर्ने र निरन्तरता दिने मन्त्री आचार्यले उल्लेख गरे। उनले हालसम्म ५३६ जनाको हवाई उद्धार भएको जानकारी दिए।
मन्त्री आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अपांगतामैत्री नमूना मन्त्रालयको रुपमा विकास गर्ने काम अगाडि बढिरहेको पनि बताए।