काठमाडौं । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु क्लिनिक सुरु गरेको छ । सुनसरी जिल्ला मुलुकभर सबैभन्दा बढी डेंगु संक्रमण फैलिएको १० वटा जिल्लाहरु मध्ये पहिलो नम्बरमा छ । यहाँ एक हजार ५७१ जनामा डेंगु संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमण पहिचान र उपचारका लागि प्रतिष्ठानले छुट्टै क्लिनिक सञ्चालनमा ल्याएको हाे । प्रतिष्ठानको जीओपीडी भवनअगाडि डेंगु क्लिनिक सुरु गरिएको सह–प्रवक्ता डा. चुरामणि पोखरेलले बताए । लगातारको वर्षापछि लामखुट्टेको टोकाइ बढ्दा सुनसरीको धरानमा सबैभन्दा बढी डेंगु संक्रमण देखिएको छ । संक्रमण बढेपछि अलग्गै क्लिनिक सुरु गरिएको उनले जानकारी दिए ।
रोगको प्रकोप नियन्त्रण तथा सर्वसाधारणलाई सहजरुपमा उपचार सेवा प्रदान गर्न प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा असार २९ गतेदेखि क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
क्लिनिक सञ्चालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्स लगायत अन्य जनशक्तिको व्यवस्था गरिएको र धरान उपमहानगरपालिकाले पाँच सय थान डेंगु परीक्षण किट उपलब्ध गराएको जनाइएको छ ।