काठमाडौं । तनहुँको भानु नगरपालिकाले नगरवासीको घर–घरबाट निस्कने फोहोरमैला निःशुल्क रूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहोरमैला उठाउने गरेको छ।
नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहोरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । ‘घर–घरबाट फोहोरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ’, उनले भने।
नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, पुर्कोट, भन्सार, नारेश्वरटार, बारीफाँट, टुरेपसललगायत स्थानबाट फोहोरमैला उठाउने गरेको त्रिपाठीले बताए।‘नगरपालिकाभित्र फोहोरमैलाको दुर्गन्ध फैलन नदिन निःशुल्क फोहोर उठाउने गरेका हौँ, सरसफाइ तथा फोहोरमैलासम्बन्धी कार्यविधि बनाउने तयारीमा छौँ’, उनले भने।
फोहोरमैला भानुका–१ अँधेरीखोला किनार नजिकै व्यवस्थापन गर्ने गरिएको छ । सबै वडाबाट सङ्कलित फोहोरमैला नगरपलिकाकै स्वामित्वमा रहेको ३५ रोपनी जग्गामा व्यवस्थापन गर्दै आएको नगरप्रमुख त्रिपाठीले बताए । नगरपालिकाले फोहोर व्यवस्थापनका लागि उक्त जग्गा खरिद गरेको हो।