काठमाडौं । लम्पी स्किन रोगका कारण गोरु मरेपछि कृषकलाई खेत जोत्न समस्या भएको छ । धान रोपाइँको चटारोका बीचमा सो रोगबाट गोरु मरेपछि कृषकलाई समस्या भएको हो ।जिल्लाका दशवटै पालिकाका चार हजार एक सय ७६ पशुमा लम्पी स्किन रोग फैलिएकामा ४७ पशु मरेका छन् ।
यसमध्ये ४३ गोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ’खेतीपातीको समयमा गोरु मर्दा कृषकलाई खेत जोत्न समस्या भएको छ । गोरुको विकल्प ट्र्याक्टर भए पनि कतिपय किसानले ट्र्याक्टर किन्न सक्ने अवस्था छैन ।’
उनका अनुसार, लम्पी स्किन सङ्क्रमण भएकै अवस्थामा काममा लगाउँदा त्यसैका कारण पशुको मृत्यु भएको हुनसक्ने देखिएको छ । ’लम्पी स्किन सङ्क्रमण हुँदैमा मृत्यु हुने होइन, बिरामी भएको अवस्थामा काम गर्नुपर्दा पशुलाई गाह्रो भएर मृत्यु भएको देखिएको छ’, डा श्रेष्ठले भने ।
लम्पी स्किनविरुद्ध जिल्लामा दश हजार पाँच सय पशुलाई खोप लगाइसकिएको छ । स्थानीय तहको समन्वयमा लम्पी स्किन सङ्क्रमणबाट बचाउन दश हजार पाँच सय स्वस्थ पशुलाई खोप लगाइएको श्रेष्ठले जानकारी दिए । उनले भने, ’यो खोप सङ्क्रमित भएको पशुलाई नभई सङ्क्रमण नभएका पशुलाई रोगबाट बचाउन लगाउने हो ।’
सबैभन्दा बढी व्यास नगरपालिकाका पशुलाई खोप लगाइएको छ । व्यासमा तीन हजार पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ । खोप लगाउनका लागि स्थानीय तहले आफैँले खरिद गरेका थिए ।