एजेन्सी । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन्।
बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए । पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो।
बसमा रहेका एक घाइते एमडी मोमिनका अनुसार बसमा क्षमता भन्दा बढी यात्रु सवार थिए। ‘म भण्डारियाबाट बसमा चढेँ ।
बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो,’ उनले भने, ‘सबै यात्रु बसभित्र फसेका थिए। ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ।’