काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुका विषयमा कुनै जिज्ञासा तथा समाधान खोज्ने भए २४ सै घण्टा सञ्चालनमा रहेको हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेका छन्। शाहले बिरामीलाई १०२ नम्बरको नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न पनि सुझाएका छन्।
उनले नेपालभर महामारीको रुपमा डेंगु फैलन संकेत देखिएको भन्दै सचेत रहन अपिल गरेका छन्। मेयर शाहले डेंगु रोग लाग्नै नदिने तर्फ सबै महानगरवासीहरुले आ–आफ्नो तर्फबाट प्रयत्न गर्न र सचेत रहन अपिल गर्दै डेंगु नियन्त्रणका लागि महानगरपालिकाले चालेका सबै कार्यक्रममा सहयोगको लागि अनुरोध पनि गरेका छन्।
बालेनले सार्वजनिक गरेको सूचनामा भनिएको छ। `विगतका वर्षहरुको अनुभवलाई हेर्दा वर्षायाममा विशेष गरी श्रावण, भाद्र, असोज र कात्तिकसम्म यस रोगको संक्रमण दर तीब्र रहेको पाइन्छ। नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौं। डेंगु रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नम्बको हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ,।’