काठमाडौं । नेपालमा पछिल्लो समय टाउको र घाँटीको क्यान्सरका बिरामीहरुको संख्या बढ्दो रुपमा रहेको छ । आज विश्व टाउको तथा घाँटीको क्यान्सर दिवसका अवसरमा नेपाल क्यान्सर अस्पतालले एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा क्यान्सर सरभाईवरले आफ्नो अनुभव साटेका थिए ।
नेपाल क्यान्सर अस्पतालका डाक्टर प्रभात चन्द्र ठाकुरका अनुसार नेपाल क्यान्सर अस्पतालले हालसम्म करिब चार सय टाउको र घाँटीको क्यान्सर भएका बिरामीहरुको उपचार गरिसकेको छ । अस्पतालले दिने स्वास्थ्य उपचार सेवा गुणस्तीय छ । यस अस्पतालले दिने उपचार सेवा भारतको जस्तै गुणस्तरीय भएको उनको दाबी छ ।
नेपाल क्यान्सर अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठका अनुसार टाउको र घाँटीको क्यान्सरको मुख्य कारक सूर्तीजन्य पदार्थ हो । यस प्रकारको क्यान्सरका बिरामी नेपालको तराई क्षेत्रमा बढी मात्रामा रहेका छन् । यस्तो क्यान्सरले खाना खानमा समेत समस्या उत्पन्न हुने गर्छ ।
जुनसुकै क्यान्सर भएका बिरामीहरुलाई उपचार मात्र नभई मानसिकरुपमा पनि सहयोग गर्नु आवश्यक भएको उनी बताउँछन् । आफ्नो अस्पतालले अन्र्तराष्ट्रिय नियम अनुसार नै क्यान्सरको उपचार गर्दै आएको उनको दाबी छ । अन्य प्रकारका क्यान्सरको तुलनामा यस्तो क्यान्सर रोकथाम गर्न केही सहज भएको डा.श्रेष्ठ बताउँछन् । सुरुवाती चरणमा पत्ता लगाउन सकेको अवस्थामा यसलाई पूर्णरुपमा निदान गर्न सकिन्छ ।