काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरवाही गरेको मुद्दामा रु ३० लाख क्षतिपूर्ति दिन आदेश दिएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो ।
आदेशमा भनिएको छ, ‘आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।’ श्वासप्रश्वासमा समस्या भएर उक्त अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुर्याइएका आठ महिनाका ती बालक आलोकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन भनिएको हो ।
विसं २०७३ असार २२ गते ती बालकलाई उपचारका लागि उक्त अस्पतालको इमर्जेन्सीमा पुर्याइएको थियो । पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए।