काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा आँखासम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरसको संक्रमण फैलिएको छ ।
यो भाइरसको संक्रमण फैलिएपछि दुबै जिल्लामा आँखा अस्पताल तथा उपचार केन्द्रमा बिरामीको संख्या बढेको छ ।
गेटा आँखा अस्पतालका प्रमुख डा. सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरसका कारण भएको बताउनुभयो । गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधराचाँदनी लगायतका स्थानका आँखा उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको डा. पन्तले बताए ।
प्रायगरी अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरसका कारणले भएको हो’, पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु आइरहनुभएको छ । ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या भएका छन् ।