काठमाडौं । रौतहट जिल्लामा अनुमति नै नलिई सञ्चालनमा रहेका अस्पतालहरू धमाधम बन्द हुन थालेका छन् ।
अबैध रूपमा सञ्चालित नेपाल लाइफ हस्पिटलको चरम लापरवाही एवं बदमासीका कारण केही दिनअघि मात्र एक जना सुत्केरीको ज्यान गएपछि उनीहरू अस्पताल बन्द गरेर नै फरार भएका छन् ।
जिल्लाको देवाहिगोनाही नगरपालिका–९ धरहरीमा सञ्चालनमा रहेको उक्त हस्पिटलका सञ्चालक अहिले फरार छन् । त्यसैसँग रहेको रौतहट कान्ति बाल मेमोरियल हस्पिटल प्रालि गरुडा नपा–१ जयनगरमा रहेको हस्पिटललाई पनि सञ्चालकले बन्द गरेर फरार छन् ।
यसरी अनुमति नै नलिई विगत केही वर्षदेखि गौरकानुनी तरिकाले सो हस्पिटलहरू सञ्चालनमा रहेको भेटिएको हो । त्यस्ता ज्यानमारा अस्पतालहरूले उपचार नै सम्भव हुन नसकेको अवस्थामा अन्यत्र रेफर गर्नुको सट्टा सो अस्पतालले पैसाको लोभमा बलजबरजस्ती राखेर बिरामीलाई मार्ने गरेको स्रोतको दावी छ ।
बिना अनुमतिका अस्पतालले मानवको स्वास्थ्य जीवनसँग यसरी दिनदहाडै खेलवाड गरिरहँदासमेत नियमनकारी निकायले कुनै ध्यान दिन सकेको छैन । यी अस्पतालहरू उदाहरण मात्र हुन् । जिल्लामा यस्ता कैयौँ अस्पतालहरू छन् । जुन बिनाअनुमती नै सञ्चालनमा छन् । मानवको स्वास्थ्य जीवनसँग खेलवाड गर्ने त्यस्ता सञ्चालकहरूलाई पक्राउ गरी हदैसम्मको कारबाही गर्न स्थानीयहरूले माग गरेका छन् ।