काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन दिएको निर्देशन कार्यान्वयन हुन सकिरहेको छैन ।
स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता हुनका लागि निर्देशन दिएको थियो ।
यद्यपि पोखरा महानगरको स्वास्थ्य महाशाखामा ३ सय ३४ स्वास्थ्यकर्मी छन् । उनीहरू महानगरका ३३ वटै वडामा खटिएका छन् ।
यीमध्ये केही कोरोना र अन्य समयमा महानगरलाई आवश्यक परेको समयमा विभिन्न स्वास्थ्य संस्थाबाट आएर काम गरिरहेका छन् । साउन ८ गते मन्त्रालयले गरेको पत्राचारको बेवास्ता गर्दै पोखरा महानगरपालिका अन्तर्गत स्वास्थ्य महाशाखामा कार्यरत कर्मचारी अझै काजमा फर्किएका छैनन् ।