काठमाडौं । कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले १ वर्षमा २ हजार ३६९ पिन्ट रगत वितरण गरेको छ।केन्द्रले विक्रम संवत् २०७९ साउनदेखि २०८० असारसम्ममा २ हजार ४६० पिन्ट रगत संकलन भए पनि २ हजार ३६९ पिन्ट रगत वितरण गरेको हो । बाँकी रगत मौज्दात रहेको बताइएको छ।
यसरी वितरण गरिएको रगत ९५ प्रतिशत टीकापुर अस्पतालमा भर्ना भएका बिरामीलाई वितरण गरिएको जनाइएको छ । टीकापुर अस्पतालमा सुत्केरीका साथै हाडजोर्नीका बिरामी, थारू जातिमा देखिने सिकलसेलका बिरामी र अन्य शल्यक्रिया हुन थालेपछि रगतको खपत बढेको हो । अघिल्लो वर्ष १ हजार ६९५ पिन्ट रगत वितरण भएको केन्द्रले जनाएको छ । अघिल्ला वर्षका तुलनामा रगत खपत बढ्दै गएको छ।
कैलालीको टीकापुर र भजनी नगरपालिका, त्यसैगरी जानकी र जोशीपुर गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने नीति लिएका छन् । नीतिअनुसार ती पालिका र रेडक्रसबीच रगत प्रयोग गरेको आधारमा एकमुष्ट रकम उपलब्ध गराउने सम्झौता गरिएको छ । प्रतिपिन्ट १ हजार १५० रुपैयाँका दरले पालिकाले रेडक्रसलाई रकम उपलब्ध गराउने गरेका छन्।रगत प्रयोगका आधारमा टीकापुरमा सबैभन्दा बढी ६७९ पिन्ट रगत खपत भएको छ ।
जानकी गाउँपालिकाका नागरिकले ४०९, जोशीपुर गाउँपालिकाले २४१ र भजनी नगरपालिकाले २७२ पिन्ट रगत प्रयोग गरेका छन् । अन्य पालिकाका नागरिकले ६७६ पिन्ट रगत प्रयोग गरेका छन् । रगतको खपत बढ्दै गएपछि रेडक्रसले रेडसेल (रातो रक्तकोष), डब्लुबिसी (सेतो रक्तकोष) र प्लेटलेस छुट्याउने मशिन ल्याउने योजना बनाएको छ ।