काठमाडौं । ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुरको हेटाैँडा उपमहानगरपालिका– १५चुरियामाईस्थित पूर्व–पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका– ९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई नं. १४ गण मकवानपुरले पक्राउ गरेको प्रहरीले जनाएको छ।
बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेटसहित उनलाई पक्राउ गरिएको बताइएको छ।
उनी ट्रकका चालक रहेका छन् । साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिइएको छ।
नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगञ्जमा र बरामद लत्ताकपडा, प्रिन्टिङ पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ।