काठमाडौं । चावहिल स्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा सघन उपचार (आइसियू)नर्सिङको आधारभूत कार्यशाला शुरु भएको छ । सघन उपचार विभागमा कार्यरत नर्सहरुलाई दक्ष बनाउन क्रिटिकल केयर डेभलोपमेन्ट फाउन्डेशन र क्रिटिकल केयर नर्सेस् एसोसिएशनको अगुवाइमा शुरु भएको कार्यशालाले सघन उपचरमा विशेष योगदान दिने अपेक्षा गरिएको छ ।
कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ॐ हस्पिटल संचालक समितिका अध्यक्ष तथा सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठले नेपालको सघन उपचार शिक्षामा योगदान गर्न पाएकोमा ॐ हस्पिटल परिवार गौरवान्वित भएको बताए ।
स्वागत मन्तव्यमा ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले ॐ हस्पिटलले नर्सहरुको सिप र दक्षता अभिबृद्दि गर्न यस किसिमका कार्यशाला र तालिमहरु नियमित रुपमा गर्दै आएको बताइन्।
कार्यशालाको उद्घाटन मन्तव्यका क्रममा क्रिटिकल केयर नर्सेस् एसोसिएशनकी अध्यक्ष विमला श्रेष्ठले सघन उपचारमा काम गर्ने नर्सहरुलाई लक्षित गरेर आयोजित कार्यशाला अत्यन्त प्रभावकारी रहेको र उपचारका सिलसिलामा उपयोगि हुने जानकारी दिइन् । कार्यशालामा उत्साहजनक रुपमा सहभागि भई ज्ञान र सिप सिकेर कार्यस्थलमा फर्कन सहभागिहरुलाई आग्रह समेत गरिन् ।