काठमाडौं । धुलिखेल नगरपालिका–२ ले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिको आधारमा पशुपालक किसानलाई राहत रकम दिने निर्णय गरेको छ ।
पछिल्लो समय जिल्लामा पशुपालक किसानको उक्त रोगबाट हजारौँको संख्यामा पशु मरेका छन् । सो रोगको पर्याप्त उपचार समेत नपाइरहेको सन्दर्भमा मृत्यु भएका पशुको आधारमा किसानको लागि राहत रकम उपलब्ध गराउनु सकारात्मक साहसिक र कृषकको पक्षमा निर्णय गरिएको भन्दै वडा समितिको सर्वत्र प्रशंसासमेत गरिएको छ ।
आइतबार बसेको निर्णयमा धुलिखेल नगरपालिका–२ ले तत्काल राहत दिने निर्णय गरेको छ । उक्त वडामा हालसम्म ६५ वटा गाई मरेका छन् । वडा समितिले आइतबार गरेको निर्णयमा धुलिखेल नगरपालिका–२ भित्रका किसानको पशुपालन नै मुख्य आम्दानीको स्रोत भएकोले किसानको मनोबल उच्च राख्न पनि यो निर्णयले सहयोग पुग्ने वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।
उनकै अध्यक्षतामा बसेको बैठकमा उपस्थिति कार्यपालिका सदस्य सीता पराजुली कोइराला, वडा सदस्यहरू सुप्पिता बराल, सुवलाल तामाङ, सूर्य–प्रकाश ढुंगाना र वडासचिव प्रतिमा करवालको उपस्थितिमा यो निर्णय गरेको बताइएको छ । बैठकले राहत दिने र वृक्षरोपण कार्यक्रमबारे निर्णय गरेको छ ।