काठमाडौं । प्राय तराईका जिल्लामा हुने डेंगुको संक्रमण पछिल्लो समय कर्णालीका पहाडी जिल्लामा पनि देखिन थालेको छ । कर्णालीका सुर्खेत, कालीकोट, दैलेख, सल्यानमा र रुकुम पश्चिममा डेंगुको संक्रमण देखिने गरेको छ । अघिल्ला वर्षहरूमा संक्रमण फैलिएको डेंगु यस वर्ष भने नियन्त्रणमा आएको स्वास्थ्य अधिकारीहरू बताउँछन् ।
अन्य प्रदेशहरूमा डेंगुबाट बढी प्रभावित भएको भएपनि कर्णालीमा भने यसबाट कम प्रभाव परेको स्वास्थ्य निर्देशनालय सुर्खेतका प्रमुख रविन खड्काले जानकारी दिए । ‘अन्य प्रदेशमा डेंगिबाट प्रभावित भइरहेको बेला कर्णालीमा यसले त्यति प्रभाव परेको छैन’ खड्काले भने, ‘कर्णालीका १० जिल्ला तथा पालिकाहरुबाट यसको तथ्यांक संकलन गर्दै छौ । अहिलेसम्म यसबाट खासै प्रभावित भएको पाइएको छैन ।’
लामखुट्टेको टोकाइबाट सर्ने डेंगु यस वर्ष नियन्त्रणमा आएको स्वास्थ्य निर्देशनालयका श्यामलाल आचार्यले जानकारी दिए । गत वर्ष प्रदेशका १० जिल्लामा एक हजार चार सय डेंगिबाट प्रभावित भएको आचार्यले जनाए । हालसम्म डेंगिबाट कर्णालीमा एक जनाको मात्र मृत्यु भएको निर्देशनालयको तथ्यांक छ ।
कर्णालीमा डेंगु नियन्त्रणको लागि गत वर्ष देखि चलाएको खोज र नष्ट गर अभियानपछि यसबाट सकारात्मक प्रभाव परेको आचार्यले बताए । उक्त अभियान अन्तर्गत पालिकाहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको थियो । लामखुट्टेका लार्भा खोज र नष्ट गर भन्ने अभियान चलाइएको आचार्यले बताए ।