काठमाडौं । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ ।जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ६ स्थानीय तहमा बिहीवारदेखि पशुचौपायालाई सप्ताहव्यापी खोप कार्यक्रम गर्ने भएको हो।
१ हप्तामा ६ तहमा ५ हजार ५०० डोज भ्याक्सिन लगाइने केन्द्रले जनाएको छ । धुलिखेल नगरपालिका, नमोबुद्ध नगर, तेमाल, खानिखोला, महाभारत, बेथान्चोक गाउँपालिकामा पहिलो चरणमा ५ हजार ५०० पशुचौपायालाई खोप कार्यक्रम आयोजना गरिएको केन्द्रका प्रमुख डा. नितेश कार्कीले बताए । उनका अनुसार जिल्लामा ३६ हजार १०३ पशुलाई खोप लगाइसकिएको छ।
संक्रमणका कारण जिल्लामा हालसम्म १ हजार २७४ वटा पशु मरिसकेका छन् भने २८ हजार ६५६ पशु संक्रमित भएका छन् । रोगका कारण गाई, गोरु, बाछाबाछी र केही भैंसी समेत मरेका हुन् । जिल्लामा १ लाख ५१ हजार ८७३ गाई र १ लाख ४८ हजार ६४० भैंसी छन् । स्वस्थ सबै पशुमा क्रमशः खोप लगाइने कार्कीले बताए ।
दैनिक पशु मर्न थालेपछि धुलिखेल–२ मा कृषकलाई गाई र बाछाबाछीका लागि अलग–अलग राहत दिने निर्णय गरिएको छ । काभ्रेपलाञ्चोकमा २०८० वैशाखमा पहिलोपटक यही वडाबाट लम्पी स्किन रोग देखापरेको तथ्यांकले देखाएको छ । हालसम्म वडामा ६५ गाई मरिसकेको वडाध्यक्ष अर्जुन न्यौपानेले बताए ।