काठमाडौं । विराटनगर महानगरपालिकाको भित्रका जुनसुकै स्वास्थ्य संस्थामा डेंगु परीक्षण गराउँदा ६ सय रुपैंया मात्र शुल्क लाग्ने भएको छ । डेंगुको किटबाट परीक्षण गर्दा स्वास्थ्य संस्थाहरुले जथाभावी शुल्क लिने गरेको व्यापक गुनासो आएपछि महानगरले सरोकारवालाहरुसँग बैठक राखी डेंगु परीक्षणको शुल्क निर्धारण गरेको हो ।
सरोकावालाहरुबीचको छलफलपछि विराटनगर महानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरुले डेंगुको किटबाट परीक्षण गर्दा अधिकतम् ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने व्यवस्था गरेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए।
मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बसेको बैठकले डेंगुको किटबाट परीक्षण गर्दा तत्कालका लागि ६ सय रुपैयाँभन्दा बढी लिन नपाउने गरी शुल्क निर्धारण गरिएको अलीले बताए ।