काठमाडौं । किसानहरु महासमस्याको रुपमा फैलिदैं आएको लम्पी स्किन प्रकोपविरुद्ध २५ साउनबाट बागमती प्रदेशका १३ जिल्लाको ९१ वटा स्थानीय तहहरुबाट अभियानको रुपमा खोप लगाइने भएको छ।
प्रदेश सरकारले लम्की स्किन नियन्त्रणको लागि ७५ लाख बजेट विनियोजन गरेको छ। यो अभियानभरमा प्रदेशको १३ जिल्लाका ५० हजार वटा गाई, भैंसी तथा चौरीहरुमा खोप लगाइने छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले लम्पी स्किन नियन्त्रण तथा रोकथामको लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो। यो अभियान एक सातासम्म चल्नेछ।
हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४४० पशु सक्रिय संक्रमित छन्। हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ । अब २५ साउनबाट सुरु गरिने अभियानबाट ५० हजार पशुमा खोप लगाइने छ। यसको लागि ४८ हजार ५५० थान खोप सम्बन्धित निकायमा पुर्याइसकिएको छ भने, अभियानको क्रममा अपुग खोप खरिद गरिने छ । यो खोप लगाबापत किसानले पैसा तिर्नु पर्दैन। यो खोप लगाइएपछि गाई भैंसी वा चौंरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले बताए।
लम्पी स्किन यो रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने उनले बताए। खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाईरभैसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ।