काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद सुनिलकुमार शर्मा पक्राउबारे संसद सचिवालयलाई जानकारी गराएको छ ।
‘नेपालको संविधान (२०७२)को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाका सदस्य सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ’, सिआइबीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा हस्ताक्षरित सभामुखलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ ।
उक्त पत्रमा शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गरेको कसूरमा प्रचलित कानून बमोजिम अनुसन्धान गर्नुपर्ने भएकाले उक्त कसूरमा संलग्न जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फको निर्वाचित सांसद सुनिलकुमार शर्मा पक्राउ परेका उल्लेख छ ।
सीआइबीका अनुसार कतिपय चिकित्सकहरुले भारतीय नक्कली प्रमाणपत्र पेश गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको नेपाल मेडिकल काउन्सिल, बाँसबारीबाट सूचना प्राप्त भएको जनाइएको छ ।