काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा सुनील शर्माले सुन तस्करीका नाइकेहरुको राजीनामा माग्दा आफूलाई गिरफ्तार गरिएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरे । शर्मा नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका थिए । अदालतले उनलाई थुनामा राख्न सीआईबीलाई अनुमति नदिएपछि उनी थुनामुक्त भएका थिए ।
‘सुन तस्करहरुलको नाइकेहरुको राजीनमा मागेँ तब मलाई गिरफ्तार गरियो । गृहमन्त्री, प्रधानमन्त्रीले आतंककारीहरुको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ ? प्रजातान्त्रिक सिस्टममा बोल्न पनि पाइँदैन भने, बिना पक्राउ पुर्जी अरेस्ट गरिन्छ भने जनताको स्थिति के होला ?,’ शर्माले भने, ‘अहिलेको गृहमन्त्री जसले मलाई आतंककारी जस्तो बनाएर अरेस्ट गर्नुभयो उहाँले बिनासर्त राजीनामा गर्नुपर्छ ।
अन्तिमसम्म मेरो माग रहनेछ । यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न राज्यसत्ता चलाएका प्रधानमन्त्रीहरुले यसमा माफी माग्नुहुन्न भने म आमरण अनशन डिक्लेयर गरिदिन्छु हेर्छु के हुन्छ त्यसपछि भन्छु ।’