काठमाडौं । आगामी भदौ १ गतेदेखि बाग्मती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामीले नि:शुल्क बेड पाउने भएका छन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको निर्देशन र प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको निर्णयानुसार बिरामीले नि:शुल्क बेड पाउने भएका हुन् ।
मन्त्रालयले प्रदेश मातहतका १३ वटै अस्पताललाई परिपत्र गर्दै क्याबिन, आईसीयू र एनआईसीयूबाहेकका सम्पूर्ण बेड नि:शुल्क उपलब्ध गराउन निर्देशन दिएको हो ।
'उपरोक्त सम्बन्धमा यस मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०८०/०४/२२ को मिति २०८०/०४/२२ को निर्णयानुसार तहाँ अस्पतालहरूमा उपलब्ध रहेका शय्याहरू मध्येबाट क्याबिन, एनआईसीयू र आईसीयूबाहेक अन्य सम्पूर्ण शय्याहरू मिति २०८० भाद्र १ गतेदेखि नि:शुल्क रूपमा बिरामीलाई उपलब्ध गराउनुहुन निर्देशनानुसार अनुरोध छ,' मन्त्रालयको परिपत्रमा उल्लेख छ ।