काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नर्सिङ होममा ‘ब्रेन एन्यूरिज्म’ भनिने मस्तिष्कको नसा सम्बन्धी दुर्लभ र जटिल शल्यक्रिया सफल भएको चिकित्सकहरुले बताएका छन् ।
दिमागको रक्त नली फुलेर बेलुनजस्तो हुँदै फुटेर आन्तरिक रक्तश्राव हुनुलाई ‘ब्रेन एन्यूरिज्म’ भनिन्छ । यस समस्याबाट पीडित दाङको दंगीशरण गाउँपालिकाकी ५३ वर्षीया खगा श्रेष्ठको न्युरोसर्जनद्वय डा. निरज घिमिरे र डा.सुवोध गौतमले पाँच घण्टा लगाएर शल्यक्रिया गरेका हुन् । यही साउन १४ गते शल्यक्रिया गरिएकी खगा साउन २८ गते अस्पतालबाट डिस्चार्ज भएकी छन्।
खगा यही साउन १४ गते घरमै बसिरहेको बेला एक्कासी टाउको दुखेर अचेत भएर लडेकी थिइन् । सोही दिन उनलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान हुँदै बाँकेको नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, नर्सिङ होमको इमरजेन्सी कक्षमा पुर्याइएको थियो । टाउकोको सिटीस्क्यान गर्दा दिमागको रक्त नली फुटेको (ब्रेन एन्यूरिज्म) समस्या पत्ता लागेपछि अप्रेशन गरिएको थियो ।