काठमाडौं । कर्णालीका विभिन्न जिल्लासहित देशका दुर्गम जिल्लाहरूमा अहिले हवाई उडान ठप्प हुँदा सर्वसाधारणले दु:ख झेलेका छन्।नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्ने निर्णय लिएपछि दुर्गमका उडान प्रभावित हुँदा सर्वसाधारण मारमा परेका हुन्।
प्राधिकरणको निर्णयले नागरिकलाई आवतजावत गर्न सास्ती तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको छ। विमान कुर्दा हुम्लामा हालसम्म दुई जना बिरामीको ज्यान गुमाइसकेका छन् ।
प्राधिकरणको ‘अपरेशन आवर’ निर्णयका कारण ठप्प बनेको हवाई उडानको अवस्थाप्रति कर्णालीका सरोकारवाला निकायले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएका छन् । उनीहरूले अपरेशन आवरको निर्णय खारेज गरी स्थिति सहज बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।कर्णाली पर्यटन उद्यमी समाजको संयोजकत्वमा निर्णय खारेजीका लागि कर्णालीका नागरिक, सरोकारवाला र पर्यटन व्यवसायीले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन।