काठमाडौँ । कालिकोटको एकमात्र सरुवा रोग अस्पताल सुर्खेतमा सार्ने योजनाविरुद्ध उच्च अदालत जुम्लामा रिट परेको छ ।
कालिकोटको सदुरमुकाम मान्मामा दुई वर्षअघि स्थापना भएको सरुवा रोग अस्पताललाई कर्णाली प्रदेश सरकारले सुर्खेत सार्ने योजनाविरुद्ध स्थानीय युवा तथा अभियन्ता हिक्मतजंग मल्लले सोमबार उच्च अदालत जुम्लामा रिट दायर गरेका हुन् ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाइ दायर गरिएको रिटमा भनिएको छ, ‘कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालय, सामजिक विकास मन्त्रालयलगायतबाट हुँदै आएका काम कारबाही कानुनी रूपमा निश्प्रयोजित र प्रभावहीन भएकाले त्यस्तो कार्य परमादेशद्वारा बदर घोषित गरी हामी कालिकोटका नागरिकहरूलाई साबिककै निर्णय गर्न गराउन न्याय प्रशासन ऐन २०७३ को दफा ८ नेपालको संविधानको धारा १४४(१) र (२) समेतका आधारमा यो निवेदन गरेको छु ।’