काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण नियन्त्रणका लागि पहिलोपटक बायो लार्भीसाइड छर्कने भएको छ।
नियमित पानी परिरहेको समयमा प्रयोग गर्न नमिल्ने उक्त औषधि पानी पर्न रोकेसँगै कामपाको ३२ वटै वडाका पानी जमेको स्थानमा प्रयोग गर्ने तयारी रहेको छ। कामपा स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार उक्त औषधि प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छ भने अन्य जीवाणुलाई असर गर्दैन। उक्त औषधिले लामखुट्टेलाई मात्रै नष्ट गर्छ।
अहिले कामपामा ४० जना डेंगु रोग संक्रमित रहेका पनि प्रमुख पौडेलले जानकारी दिए। मजबुत तरिकाबाट पूर्वतयारी गरेकाले विगतको वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमितको सङ्ख्या कम रहेको भए पनि आउने दिनका लागि तयारी पूरा गरिएको पौडेलले जानकारी दिए।
विगतका वर्षहरूमा अहिलेसम्म आउँदा दैनिक १०र१५ जनामा संक्रमण देखा पर्ने गरेको थियो अहिले भने कहिलेकाहीँ मात्रै संक्रमित देखा पर्ने गरेका छन्। काठमाडौँ जिल्लामा भने हालसम्म एक सय ९६ जनामा पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये चार जना अस्पतालमा उपचाररत छन्।