काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको बैठकमा प्रयोग गरेको शब्द असंसदीय नभएको भन्दै संसद् रेकर्डबाट हटाउनु नपर्ने बताएको छ।
आइतबार सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउन पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएको बैठकपछि बोल्दै कांग्रेस सचेतक सुशीला थिङले डा. शर्माले असंसदीय शब्द प्रयोग गर्नु नभएकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने पक्षमा कांग्रेस रहेको बताएका हुन्। उनले नेकपा एमालेले पनि सांसद शर्माले राखेको अभिव्यक्ति असंसदीय नभएकाले हटाउनु नपर्ने बताएको जानकारी दिए।
उनले सांसद शर्माले सरकारले आतंककारीहरूको नेतृत्व गर्दै हुनुहुन्छ कि, डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ, भन्ने प्रश्न गरेको र यो शब्द संसदीय रहेको बताए।
सचेतक थिङले बैठकमा उच्चस्तरीय संयन्त्र गठन नगरेसम्म संसद् अघि बढ्न नसक्ने कुरा प्रमुख प्रतिपक्षले राखेको बताए। बैठकमा सभामुख घिमिरेले संसदको गतिरोध अन्त्य गर्न दलहरू मिल्नुपर्ने र समिति सभापति चाँडो चयन गर्नुपर्ने धारणा राखेको बताए।