काठमाडौं । हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेटौंडा उपमहानगरले मंगलबार हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिसँग मातृ शिशु सेवा सञ्चालनका लागि भवन निर्माण सम्झौता गरेको छ।
उपमहानगरले अस्पतालको नयाँ भवनको माथिल्लो तल्लामा मातृ शिशु कक्ष निर्माण गर्न औपचारिक सम्झौता गरेको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले बताइन्। सम्झौता अनुसार उपमहानगरले अस्पताल विकास समितिलाई ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ। तीन किस्तामा प्रदान गरिने उक्त रकमबाट अस्पताल व्यवस्थापनले ठेक्का मार्फत आउँदो चैत्रसम्ममा भवन निर्माण सम्पन्न गर्नुपर्ने छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत हेटौंडा अस्पताल सञ्चालन भए पश्चात स्वास्थ्य सेवा प्रवाहमा सुधार हुँदै गएको र सेवा लिनेहरूको संख्या अघिल्लो वर्षहरूको तुलनामा दोब्बर बढीले स्वास्थ्य सेवा लिएको बताए। चालु आर्थिक वर्षमा एक तल्ला पूर्वाधार निर्माणका लागि रकम विनियोजन गरे बमोजिम हेटौंडा उपमहानगरपालिकाले जनाएको छ।
नगर प्रमुख लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको उपस्थितिमा हेटौंडा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रशाईँ र उपमहानगरपालिकाको पूर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।