काठमाडौ। ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको ६ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुन सकेको छैन।
स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको यकिन गर्ने मुख्य ध्येयले तत्कालीन सरकारले २०७४ सालमा सो निर्देशिका जारी गरेको थियो।
मन्त्रिपरिषद्, विधेयक समितिको विसं २०७४ जेठ १९ गते बसेको बैठकले स्वीकृत गरेको निर्देशिका कार्यान्वयनमा नआउँदा विशेष गरी उपचारमा प्रयोग हुने सानादेखि ठूला तथा सामान्यदेखि अति सम्वेदनशील प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणकोे नियमन हुन नसकेको बताइएको छ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर तत्कालीन सरकारले सो निर्देशिका जारी गरेको थियो। प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री–वितरणमा गुणस्तर कायम गर्न र सोको प्रभावकारी अनुगमन तथा निरीक्षणसम्बन्धी कामलाई व्यवस्थित गर्न सो निर्देशिका ल्याइएको थियो।
निर्देशिका कार्यान्वयन नहुँदा विशेषगरी अस्पतालमा भर्ना भएका बिरामीमा बढी प्रयोग हुने सिरिन्ज, ब्लड कलेक्सन ट्युब डिभाइस पेसमेकर (मुटुका बिरामीमा प्रयोग हुने) जस्ता अतिसंवेदनशील सामग्रीको गुणस्तर र मूल्यमा एकरुपता पाइँदैन। निजी औषधि पसल तथा सरकारी अस्पतालद्वारा सञ्चालित औषधि पसलमा त्यस्ता सामग्रीको फरक–फरक मूल्य पर्दछ । यस्ता सामग्री उपभोक्ता किन्न बाध्य छन्।