काठमाडौं । चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने माग निजी प्राविधिक शिक्षालय सञ्चालकले गरेका छन् ।
चिकित्सा शिक्षा ऐन निरंकुश र स्वेच्छाचारी रहेकाले ऐन परिमार्जन गर्नुपर्ने माग उनीहरुले राखेका हुन् । उनीहरूले विश्वविद्यालय, प्रतिष्ठान, सिटिइभिटी लगायतको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने माग समेत गरेका छन् ।
ऐन तथा नियमावलीमा भएको व्यवस्थाले मुलुकभरका केही नर्सिङ तथा अन्य शैक्षिक संस्था बन्द हुँदा अर्बौँ रुपैयाँ लगानी डुबेको उनीहरुको दाबी छ ।
विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका शिक्षालयलाई चिकित्सा शिक्षा ऐन तथा नियमावलीले अप्ठ्यारोमा पारेको सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले जानकारी दिए। चिकित्सा शिक्षा ऐन २०७५ सालमा जारी भएको थियो।