काठमाडौं । नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघले देशभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ ।
महासंघको प्रदेश कमिटीले लम्पी स्किनलाई महामारी घोषणा गरी द्रुत गतिमा रोग नियन्त्रण गरी किसानलाई राहत, क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेलगायतका माग राख्दै आइतबार सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष मदनराज रेग्मीले ज्ञापनपत्र बुझाउँदै सरकारले पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनलाई तत्काल महामारीको घोषणा गर्नुपर्ने, पशुवस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्तिका लागि राहत कार्यक्रम घोषणा गर्नुपर्ने, रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन तथा प्राविधिकको व्यवस्था गरिनुपर्ने, पशुमा क्षति पुगेका किसानलाई बीमा रकम भुक्तानीको व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।