काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको पत्थरीको शल्यक्रियाका क्रममा मृत्यु भएको छ ।
कैलालीको धनगढीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीको शल्यक्रियाका क्रममा आइतबार मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
पत्थरीको शल्यक्रिया गर्दा मृगौलाको नसा काटिएपछि मृगौला दोस्रो पटक शल्यक्रिया गरेर मृगौला नै झिकिदिँदा चौधरीको मृत्यु भएको आफन्तको आरोप छ । उनको बाँया किड्नीको पत्थरीको शल्यक्रिया गरिएको थियो । अस्पतालको लापरबाहीका कारण मृत्यु भएको मृतकका आफन्तले बताए ।
अस्पतालका अध्यक्ष महेश जोशीले बिरामी चौधरी किड्नीको पत्थरीको शल्यक्रिया गर्न आएको र शल्यक्रिया समेत भएको बताए ।
शल्यक्रिया गर्दा प्वाल पारेको ठाँउबाट रगत नरोकिएपछि किड्नी निकालेको उनले स्विकार गरे । ‘एउटा किड्नीले पनि मान्छे बाच्छ भनेको भएर एउटा किड्नी निकालिएको हो,’ उनले भने । अन्तिम अवस्था आइपरेकोले यस्तो घटना हुन पुगेको उनले बताए । अस्पतालको कुनै पनि लापरवाही नभएको उनले दाबी गरे । मृतकका आफन्तले आइतबार नै मृत्यु भएको बताउँदै आएको र अस्पतालले सोमबार बिहान चौधरीको मृत्यु भएको बताएको छ ।
जोशीले शल्यक्रियाका क्रममा मृत्यु हुनुको कारण अहिलेनै भन्न नसकिने बताए। उनले भने ‘उपचारका क्रममा बिरामीको मृत्यु हुनुको कारणबारे चिकित्सकसँग आधिकारिक जानकारी नआएसम्म केही भन्न सकिदैन्।’