काठमाडौं । लोक गायक तथा सर्जक रेशम थापा उच्च रक्तचापका कारण अस्वस्थ भएपछि आइतबारदेखि अन्नपूर्ण न्युरो अस्पतालको आईसीयूमा उपचाररत छन्।
रक्तचाप बढेर जोरपाटीस्थित आफ्नै निवासमा ढलेका उनलाई चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पताल र त्यसपछि ग्रिनसिटी अस्पताल पुर्याइए पनि त्यहाँबाट न्युरो अस्पताल रेफर गरिएको थियो।
संगीतकर्मी संघका कार्यवाहक अध्यक्ष तथा गायक प्रकाश कटुवालका अनुसार रक्तचापका कारण ढलेका उनको शरीरको आधा भागमा प्यारालाइसिस भएको छ भने मस्तिष्कको नशामा असर परेकाले शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
उपचारका लागि ठूलो धनराशि खर्च हुने र थापाको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै संघले रेशम थापा बचाउ अभियान सञ्चालन गरेर उनको उपचारमा सहयोगको अपिल गरेको छ । थापाको उपचारका लागि गायक गायिकालगायत केही व्यक्तिबाट सहयोग संकलन भइरहेको जनाइएको छ ।