काठमाडौं । आत्महत्या रोकथामको लागि मिडियाको भूमिका सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पाटन मानसिक अस्पतालमा उक्त एक दिने कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय विश्वमा आत्महत्या गर्नेहरुको संख्या बढिरहँदा आत्महत्या निरुत्साहनमा सहयोग हुने मुख्य लक्ष्यका साथ उक्त एकदिने कार्यक्रमको आयोजना गरिएको हो ।
आत्महत्या निरुत्साहनका लागि ११६६ राष्ट्रिय हेल्पलाइन नम्बर हो। यो नम्बर आत्महत्या वा आत्महानिको सोच आइरहेका व्यक्तिहरुलाई लक्षित गरी मानसिक अस्पताल लगनखेल र टिपिओ नेपालद्वारा सञ्चालन गरिएको नि:शुल्क हेल्पलाइन नम्बर हो।जसमा विश्व स्वास्थ्य संगठनले आर्थिक एवंम् प्राविधिक सहयोग गरेको छ।
उक्त अभिमुखीकरण कार्यक्रममा बोल्दै पाटन मानसिक अस्पतालका निर्देशक तथा मनो-चिकित्सक अनन्त अधिकारीले आत्महत्याको सोच आउनु एक मानसिक स्वास्थ्य समस्या भएको बताए । उनका अनुसार सामाजिक तथा व्यवहारिक कारणले यी सोच अझै बढ्न सक्दछ। मानसिक स्वास्थ्य सेवा र मनोपरामर्श लिएमा यो समस्या पूर्ण रुपमा निको हुन्छ।
झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनले तथ्यांक सार्वजनिक गरेको छ ।सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३.५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७.७ रहेको थियो।