काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोजन सम्बन्धी भद्रगोल ५ वर्षदेखि जस्ताकोतस्तै छ । यही समस्याको सही व्यवस्थापन नहुँदा केही कर्मचारीको त जागिर नै गुम्ने खतरा उत्पन्न भएको छ ।
दरबन्दी भएकै स्थानमा जान भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले पटक(पटक परिपत्र गरे पनि समस्या समाधान हुन सकेको छैन ।निर्देशन मानेर फिर्ता हुनेहरूलाई पनि स्थानीय तहले दरबन्दी नरहेको भन्दै हाजिर गराएका छैनन् । सोही कारण सयौं कर्मचारी घर न घाटको भएका छन् ।
नागरिकको स्वास्थ्य संवेदनशीलतामा प्रत्यक्ष खटिने यी कर्मचारी मन्त्रालयको लापरबाहीका कारण पटकपटक दुस्ख पाउनुपरेको गुनासो लिएर दिनहुँजसो मन्त्रालयको दैलो रुँगेर बस्न बाध्य छन् । मन्त्रालयले निर्णय गरी पठाएका काजका स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले फिर्ता गर्न दिएको पछिल्लो निर्देशनले विभिन्न स्वास्थ्य संस्था झन् अस्तव्यस्त भएको छ ।
सुरूमै दरबन्दी ख्याल नगरी पठाउने, स्थानीय निकायले दरबन्दीमै आएकालाई पनि हाजिर नगराउनेजस्ता समस्याका कारण उनीहरू झन् सकसमा छन् ।