काठमाडौं । आत्महत्या गर्ने सोच आउनु एउटा बिरामी भएको यहाँ आयोजित कार्यक्रममा चिकित्सकले बताएका छन् ।
विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा ब्युटिफुट माइण्ड इन्स्टिच्युट अफ साइकियाट्रीकको आयोजना र कान्तिपुर हेल्थ डटकमको संयोजनमा आज यहाँ आयोजित चिकित्सक–पत्रकार अन्तरक्रिया कार्यक्रममा आत्महत्याको सोच आउने बिरामीको उपचार सम्भव भएको बताइयो ।
कार्यक्रममा मानसिक रोग विशेषज्ञ डा गिरिराज भन्तानाले मानसिक रोगीको उपचार गर्यो भने निको हुने र उसले सही तरिकाले जीवनयापन गर्न सक्ने बताए । उनले भने, मानसिक रोगको समयमा उपचार गरेर आत्महत्या रोकथाम गर्न सकिन्छ ।
आत्महत्याको सोच आउँछ भने त्यो बिरामीको कारणले हो भन्यो भने मात्रै पनि उक्त व्यक्तिले आत्महत्या गर्ने सम्भावना कम हुने भन्दै उनले उपचार गरे भने झनै कम हुने बताए । आत्महत्याको सोच आउने व्यक्तिले आफ्ना कुरा अरुलाई सुनाउने मौका पाउनुपर्ने भन्दै उनले भने, कुरा सुनाइसकेपछि कारण के हो रु कुन खालको मानसिक स्वास्थ्य अवस्था हो, त्यसको उपचार खोज्नुपर्छ ।
आत्महत्या अघि मानिसको मनमा विवाद आउने जनाउँदै उनले भने, व्यक्तिले ‘मेरो समस्याको समाधान के होला त ? के गर्दा मैले यो समस्याबाट छुटकारा पाउँछु, समाजले अब त मलाई बचाउन सक्दैन, म अब सबैको घृणित भइसकेँ, अब मैले के गर्नुपर्ला रु जस्ता विवादका सोच आउँछन् । यस्तो अवस्थामा व्यक्तिले एउटा मात्रै उपाय आत्महत्या देख्ने उनको भनाइ छ ।
कडा खालको मानसिक समस्याको औषधिको उपचारले मात्रै नपुग्ने भन्दै उनले सही व्यवस्थापन पनि गर्नुपर्ने बताए । उनले भने, औषधिसँगै व्यक्तिको सही व्यवस्थापन हुन सकेन भने मानसिक रोग बल्झिन्छ, मानसिक रोग बल्झेपछि फेरि आत्महत्याको सोच आउँछ । करिब ९९ प्रतिशत आत्महत्या मानसिक रोगका कारणले हुने गरेको उनको भनाइ छ । उनले मानसिक रोगमध्ये पनि ९५ प्रतिशत डिप्रेसनका कारण आत्महत्या गर्ने बताए ।
चरण पार गर्ने क्रममा एउटा व्यक्तिले आत्महत्या गर्नुभन्दा अगाडि आठ पटक आत्महत्याको कोसिस गरेको हुने भन्दै उनले भने, आठ पटक आत्महत्याको कोसिस गरिसकेपछि बल्ल उ आत्महत्या गर्न पुग्छ ।यिनै चरणको समयमा उक्त व्यक्तिलाई परामर्श र उपचारबाट रोक्न सकिने उनको भनाइ छ ।
नेपालको स्वास्थ्य बजेटको शून्य दशमलव सात प्रतिशत मात्रै मानसिक स्वास्थ्यमा खर्च हुने गरेको जानकारी दिँदै डा भन्तानाले मानसिक स्वास्थ्यबिनाको शारीरिक स्वास्थ्य कल्पना गर्न पनि नसकिने बताए । उनले भने, मानसिक रूपमा बिरामी छ भने शारीरिक रूपमा उ स्वस्थ हुनै सक्दैन ।
आत्महत्या रोकथामका लागि जनचेतना फैलाउने, उपचार गर्ने र व्यवस्थापन गर्नुपर्ने भन्दै उनले भने, उपचारपछि रोजगारी पाओस्, परिवार र समाजबाट घृणित हुन नपरोस् । गत वर्ष नेपालमा सात हजार एक सय १५ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको रिपोर्ट रहेको जनाउँदै उनले त्यो आत्महत्या कोसिसको १४ दशमलव ४८ प्रतिशत मात्रै भएको जानकारी दिए ।
कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि एवं पत्रकार महासङ्घका सचिव दीपेन्द्र अधिकारीले गत आवमा चितवनमा दुई सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीमा रहेको जानकारी दिए । त्यसमध्ये पुरुष एक सय ४६, महिला ६१, बालक छ, बालिका ११ रहेका छन् । आगो लगाएर एक, विष सेवन गरेर २६, झुन्डिएर एक सय ८६ र हाम फालेर एक जनाले आत्महत्या गरेका छन्।